काठमाडौं। नारायणहिटी दरबार संग्रहालयमा रेष्टुरेन्ट निर्माण बारेमा छानबिन गर्न गठन भएको समितिले प्रतिवेदन तयार गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको छानबिन समितिले प्रतिवेदन तयार गरी सोमबार मन्त्री प्रेमबहादुर आलेलाई बुझाएको हो।
प्रतिवेदनमा नारायणहिटी क्षेत्रको १४ रोपनी क्षेत्रमा अवैधानिक तरिकाले बनाइएको रेष्टुरेन्टको संरचना निर्माण तत्काल रोक्न सिफारिस गरिएकाे छ। प्रतिवेदनमा रेष्टुरेन्ट निर्माण गर्ने क्रममा एउटै परिवारभित्रका सेयर सदस्यहरु रहेको बतास समूहका तीनवटा संस्थाले प्रतिष्पर्धामा भाग लिएको र ठेक्का बतासले पाएकाले ठेक्का सम्झौतामा मिलेमतोमा भएको उल्लेख गरिएको छ।
प्रतिवेदनमा क्यान्टिन र क्याफ्टेरिया निर्माण गर्न स्पष्ट क्षेत्र नदिइएको, दक्षिणपट्टिको प्रवेशद्वार नजिकै रहेको जग्गामा समितिको कुनै जानकारीबिनै निर्माण कार्य अगाडि बढाइएको, निर्माण रोक्न कुनै पहल नभएको, क्यान्टिन र क्याफ्टेरिया भाडामा चलनचल्तीको बजारमूल्यलाई आधार नबनाइएकोलगायत निष्कर्श निकालिएको छ।
संग्राहलयभित्र संरचना निर्माण प्रकरणमा विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहाल पनि दोषी रहेको समितिको प्रतिवेदनमा उल्लेख छ।
समितिले सार्वजनिक गरेको प्रतिवेदनमा भनिएको छ, ‘सम्झौता विपरित बि. मेनेजमेन्ट प्रालिले नयाँ संरचना निर्माण गर्दा विकास समितिका कार्यकारी निर्देशकबाट कुनै पनि कानुनी कारबाही गरेको देखिएन। निर्माण कार्यलाई तत्काल रोक्न र निर्माण नै हुन नदिनेतर्फ पनि कुनै पहल भएको देखिएन।’