काठमाडौं। नेपाली भूभाग लिपुलेकमा सडक विस्तार जारी रहेको भारत सरकारको घोषणाप्रति नेकपा एकीकृत समाजवादी पार्टीले आपत्ति जनाएको छ।
एकीकृत समाजवादीका नेता तथा विदेश विभाग प्रमुख झलनाथ खनालले विज्ञप्ति जारी गरेर नेपाली भूभागमा सडक निर्माण गर्ने भारत सरकारको घोषणाप्रति आपत्ति जनाएका हुन्।
लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपाली भूभाग हुन् भन्ने कुरा भारत सरकारलाई प्रष्टसँग थाहा हुँदा हुँदै नेपाल सरकारको सहमति विना कुनै पनि किसिमको निर्माण कार्य अवैधानिक हुने विज्ञप्तिमा उल्लेख छ ।
यसरी काम गर्नु नेपालको सार्वभौम र राष्ट्रिय अखण्डताविरुद्ध हुने चेतावनी पनि विज्ञप्तिमार्फत दिइएको छ। एकपक्षीय रुपमा एकतर्फी ढंगले उक्त क्षेत्रमा सडक निर्माण गर्ने भारत सरकारका जिम्मेवार नेताहरुबाट आएको पछिल्लो अभिव्यक्तिप्रति एकीकृत समाजवादीले भर्सना समेत गरेको छ।
विज्ञप्तिमा नेता खनालले मुलुकको सार्वभौमिकता र अखण्डताको विरुद्ध भइरहेका यस्ता गतिविधिप्रति बेलैमा सजग भई आवश्यक कदम चाल्न नेपाल सरकारलाई आग्रह गरेका छन्।