काठमाडौं। ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बढी विद्युत खपत हुने उद्योग स्थापना गरे सरकारले पनि सहयोग गर्ने बताएकी छन्।
मन्त्री भुसालले स्वदेशी बिजुलीको खपत स्वदेशमा नै गर्नुपर्छ भन्ने ध्येयका साथ सरकारले उद्योगी तथा व्यवसायीलाई सहयोग गर्ने बताएकी हुन्।
स्वतन्त्र ऊर्जा उत्पादकको संस्था इप्पानको आयोजना तथा नेपाल उद्योग परिसङ्घ र नेपाल पावर एक्सचेञ्ज लिमिटेडको सहकार्यमा आयोजित नेपाल पावर मार्केट समिट २०२२ लाई सम्बोधन गर्दै उनले बिजुलीको खपत बढाउने विषय नै अहिलेको प्रमुख आवश्यकता रहेको बताइन्।
उनले भनिन्, “हामीले बढी विद्युत् खपत गर्ने उद्योग स्थापनाका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका निजी क्षेत्रलाई विशेष आह्वान गर्दै आएका छौँ। सरकार थप सहजीकरणका लागि तयार छ।”
सरकारको पहिलो प्राथमिकता विद्युत् खपतलाई वृद्धि गर्दै लैजाने नै रहेको उल्लेख गर्दै उनले त्यसका लागि विद्युतीय चुल्होको प्रयोग र विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवद्र्धन गर्ने नीति लिएको बताइन्।
अहिले निजी क्षेत्रबाट सञ्चालित उद्योगले मागेअनुसार विद्युत् उपलब्ध गराउँदै आएको विवरण पेश गर्दै ऊर्जामन्त्रीले बिजुलीलाई कच्चा पदार्थको वस्तुका रूपमा लिएर त्यसलाई बढावा दिनुपर्नेमा जोड दिइन्।