काठमाडौं। नेपालको विद्युत अन्तरदेशीय बजारमा बिक्री गर्न भारतीय कम्पनीसँग सम्झौता भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) आयोजना गरेको एक कार्यक्रममा नेपाल पावर एक्सचेन्ज लिमिटेड र भारतको मनिकरण पावर लिमिटेडबीच सम्झौता भएको हो।
सम्झौतामा पावर एक्सचेन्ज लिमिटेडका कार्यकारी निर्देशक आशिष गर्ग र मनिकरणका कार्यकारी निर्देशक नवजित सिंह कल्सीले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार मनिकरणले बर्खामा खेर जाने नेपालको ५ सय मेगावाट विद्युत पावर एक्सचेन्ज लिमिटेडमार्फत खरिद गरेर भारतीय बजारमा बिक्री गर्नेछ।
नेपाल विद्युत प्राधिकरणसँगको सहकार्यमा पावर एक्सचेन्जले तत्कालका लागि बर्खामा खेर जाने विद्युत मनिकरणमार्फत भारतीय बजारमा बिक्री गर्ने गरी समझौता गरिएको गर्गले जानकारी दिए।
नेपालमा लामो समयदेखि पिपिए रोकिएकाले अब १० देखि २५ वर्षसम्मका लागि निजी क्षेत्रको विद्युत सोझै भारतको बजारसम्म पुर्याउन यो वर्षभित्र ५ सय मेगावाटका आयोजनाको पिपिए मनिकरणमार्फत भारतीय खरिदकर्तासँग गर्ने विषय पनि सम्झौतामा उल्लेख भएको बताइएको छ।
पावर एक्सचेन्ज लिमिटेडमा मनिकरणको पनि १५ प्रतिशत सेयर स्वामित्व रहने गर्गले जानकारी दिए। उनका अनुसार मनिकरणले पावर एक्सचेन्जको क्षमता अभिवृद्धि गर्ने, क्षेत्रीय विद्युत व्यापारका सम्बन्धमा प्रशिक्षण दिने, विद्युतीय संरचनाको व्यवस्थापन गर्ने तथा नेपालको आन्तरिक बजारमा समेत विद्युत व्यापार गर्ने गरी काम गर्ने उनले बताए ।