जुम्ला। विगत तीन महिनादेखि जुम्लाका तिला र तातोपानी गाउँपालिकाबासी अन्धकारमा बस्न बाध्य छन्। गत कात्तिक १ गते आएको भीषण बाढी र पहिरोले लघु जलविद्युत् बगाएर लगेपछि स्थानीय अन्धकारमा बस्न बाध्य भएका हुन्।
करिब एक शताब्दीपछि आएको भीषण बाढी र पहिराले पाँच लघुजलविद्युत् आयोजनामा पूर्ण क्षति पुर्याएको छ। स्थानीयवसीले अहिले देवदार वा सल्लोको झरो बालेर काम चलाउँदै आएका छन्।
त्यहाँका स्थानीयले अहिले मोबाइल चार्ज गर्न समेत पाएका छैनन्। विद्युत् नहुँदा कुटानीपिसानी मिल पनि सञ्चालनमा आउन सकेका छैनन्। तीन महिनायता अन्धकारले गर्दा पशुजस्तो जीवन जीउनुपरेको स्थानीयको गुनासो छ।
बाढी र पहिराले गर्दा तिला–४ साँपुल्ली, रावतवाडा, नुवाकोट गाउँमा सबैभन्दा बढी क्षति पुर्याएको छ भने तातोपानी–४ का हाँकु, ठाँटा, गिडीखोला, नियापानी र वडा ७ तथा ८ को सर्मी, सुर्की, कँयरकोट, ताम्ती लामाबगड, बारागाउँ दारिम टाकुरी, पातरसाँघु, बंतडी, टोप्लालगायत क्षेत्रको विद्युत् क्षति पुर्याउनुका साथै सयौं कित्ता जमिन कटान गरेको छ ।