काठमाडौं। अर्थ सचिव मधु मरासिनीले नेपाल वायुसेवा निगम वर्तमान व्यवस्थापनबाट अगाडि बढ्न विकल्प खोज्नुपर्ने बताएका छन्।
अर्थ सचिव मरासिनीले ४७ अर्बभन्दा बढी ऋणमा डुबेको र ब्याजसम्म तिर्न सक्ने अवस्थामा नरहेको निगमबारे विकल्प खोज्नुपर्ने बताएका हुन्।
संघीय संसद्, प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको उपसमितिको सोमबारको बैठकमा अर्थ सचिव मरासिनीले सरकारले निगममा थप लगानी गर्न सक्ने अवस्था नरहेको बताएका हुन्। निगमलाई सञ्चलन गर्नका लागि विकल्प आएमा सरकारले सघाउने तर अहिलेको अवस्थामा त्यहाँ थप लगानी गर्न नसकिने मरासिनीले स्पष्ट पारे।
विगतमा निगम अन्तर्राष्ट्रियस्तरमा नै प्रतिस्पर्धी बनोस् भनेर सरकारले सहयोग गरोको तर अहिले निगम धराशयी अवस्थामा पुगेको उनको दाबी छ।
निगममाथि कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र चिनियाँ एभिकको गरी ४७ अर्ब ऋण रहेको सचिव मरासिनीले जानकारी दिए।