काठमाडौं। देशभरका आठ स्थानमा खनिज अध्ययन तथा उत्खनन अनुमति प्रदान गरिएको छ।
खानी तथा भूगर्भ विभागले देशभरका आठ स्थानको चुनढुङ्गा, मार्बल, काउलिङ, बालुवा र तामालगायतका खनिज पदार्थको उत्खनन तथा अध्ययनका लागि विभिन्न कम्पनीलाई अनुमति प्रदान गरेको हो।
धादिङको तान्द्राङगढी र जुरेथुममा चुनढुङ्गा उत्खनन, तान्द्राङगढीमा सर्वोत्तम सिमेन्ट र जुरेथुमममा शक्ति सिमेन्ट उद्योग उत्खननका लागि अनुमति दिइएको छ। त्यसैगरी भीमफेदीको मार्बल उत्खननका लागि अरिटेन्ट मिनलर प्रालि, गोरखाको गण्डकी गाउँपालिकाको बालुवा उत्खननका लागि गोरखा रिसोर्सेस प्रालि, सोही गाउँपालिकाको थप दुई स्थानमा बालुवा उत्खननका लागि महर्जन खानी उद्योग प्रालिलाई अनुमति दिइएको विभागले जनाएको छ।
मकवानपुरस्थित दामनको काउलिङ र बागलुङ ओखरबोटको तामा अध्ययनका लागि क्रमशः सिमभञ्याङ प्राइम रिसोर्सेज प्रालि र डोङ्गी मिनरल प्रालि काठमाडौँलाई अनुमति प्रदान गरिएकोछ। कूल १३ स्थानको खानी उत्खनन तथा अनुमतिका लागि बोलपत्र आह्वान गरेको विभागले चार वटा स्थानमा निवेदन नपरेको र एक स्थानको लागि आवेदन रद्द भएको विभागका महानिर्देशक रामप्रसाद घिमिरेले जानकारी दिए ।
विभागले आठ स्थानको खनिज उत्खनन तथा अनुमति प्रदान गरेबापत ३७ करोड राजस्वसमेत सङ्कलन गरेको छ।