काठमाडौं। नेपालकाे जमिन लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा भारतले सडक विस्तार गरिरहेकोप्रति नेकपा एमालेले आपत्ति जनाएको छ।
एमालेका परराष्ट्र मामिला विभागका डा.राजन भट्टराईले विज्ञप्ति जारी गर्दै नेपालको भूभागमा भारत सरकारले विभिन्न संरचना निर्माण गरिरहेकामा ध्यानाकर्षण भएको जनाएको हो।
गत वर्ष नै राजनीतिक–प्रशासनिक नक्सा एवं संविधान संशोधनमार्फत नेपालले यस विषयमा आफ्नो कानूनी एवं राजनीतिक अडान स्पष्ट पारिसकेको स्थितिमा भूगाग फिर्ता ल्याउन त्यसबेला नेपाल सरकारले कूटनीतिक पहल सुरु गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
विज्ञप्तिमा भिनएको छ, “नेपाल–भारत संयुक्त आयोगको बैठकमा सीमालगायत दुई देशबीचमा थाँती रहेका विषयलाई कूटनीतिक माध्यमबाट टुङ्ग्याउने भनी गरिएको सहमति विपरीत भारतीय पक्षबाट उक्त नेपाली भूभागमा सडकसहित संरचना निर्माणलाई तीव्रता दिइरहेकोप्रति नेकपा (एमाले) को गम्भीर ध्यानाकर्षण भएको छ।”
नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानमाथि आँच पुर्याउने यस्ता गतिविधि तत्काल बन्द हुनुपर्ने एमालेको माग छ। ‘सडकलगायत संरचना निर्माण रोकिनुपर्छ, वार्ताको माध्यमबाट यस विषयलाई अविलम्ब टुङ्ग्याइनुपर्छ र वार्ताबाट समाधान नखोजिँदासम्म राज्यस्तरबाट कुनै पनि संरचना बनाइनुहुन्न,’ विज्ञप्तिमा भनिएको छ।