सुर्खेत। पृथ्वीनारायण शाहको जन्मजयन्तीमा सुर्खेतको ऐतिहासिक बयलकाँडा गढीमा उनको सालिका अनावरण गरिएको छ। नेपाली सेनाको पश्चिम कमाण्ड हेडक्वाटर निमारे सुर्खेतका कमाण्डपति प्रेम शाहीले शाहको सालिक अनावरण गरेका हुन्।
गढी संरक्षणमा चासो देखाएको नेपाली सेनाले यसअघि गढी प्रवेशद्वारमा गेट निर्माण गरेर इतिहासमा उल्लेख दस्तावेजसहित शाहको तस्वीर राखेको थियो।
इतिहासको रक्षार्थ योगदान पुर्याउनु भएका शाहको सालिक राखेर संस्कृति संरक्षण गर्दै आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्ने मुख्य उद्देश्य अनुसार सालिक राखिएको कमाण्ड सेनापति उपरथी शाहीले बताए। नेपालको रक्षा गर्नमा यस्ता गढीहरूले महत्वपूर्ण योगदान गरेकाले ऐतिहासिक धरहरा र सांस्कृति सम्पदाको संरक्षणमा सेनाले फरक मार्गबाट लागेको शाहीको भनाइ छ।
गढी क्षेत्रमा पुरातत्व विभागले बाहेक अन्य निकायले उत्खनन र पुनर्निर्माण गर्न नमिल्ने भएकोले नयाँ सबुज गण कपासे ब्यारेकले सेनाले पहिलो चरणमा पाँच लाखको लागतमा गेट निर्माण गरेको थियो। उनका अनुसार रणनीतिक महत्व बोकेका देशभरका ऐतिहासिक गढी तथा किल्लाहरुको ‘राष्ट्रिय एकीकरण मार्ग’ अन्तर्गत गढीको संरक्षण गर्ने अभियानलाइ पनि निरन्तरता दिएको हो।