म्याग्दी। रघुगंगा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको काम ३८ प्रतिशत मात्र पूरा भएको छ। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो लिमिटेडको हालसम्म ३८ प्रतिशत निर्माण कार्य पूरा भएको हो।
वि.सं २०७३ मा स्थापना भएको रघुगंगा हाइड्रोपावर लिमिटेडसँग सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स जेपीले वि.सं २०७४ मंसिरमा ठेक्का सम्झौता गरेको थियो। कम्पनीले सुरुङ, विद्युतगृह र पावर हाउस निर्माणको काम गरिरहेको आयोजनाले जनाएको छ।
कुल ६ किलोमिटर २०० मिटर लामो सुरुङमध्ये हालसम्म दुई हजार दुई सय मिटरमात्रै निर्माण सकिएको छ । पिप्लेमा ६१ मिटर गहिरो सर्च साफ्ट र सुरुङको ब्रेक थ्रु भएर ३ सय ३० मिटर गहिरो प्रेसर साफ्ट निर्माण भएको छ ।
सिभिल ठेकेदारले चार ठाउँबाट मुख्य सुरुङ र दुई ठाउँबाट प्रेसर साफ्ट सुरुङ खन्ने काम गरिररहेको छ । सुरुङ, विद्युतगृह र ड्यामसाइट निर्माणतर्फ अहिले ४ सय ५० जना जनशक्ति परिचालन भएको आयोजनाले जनाएको छ ।