रुपन्देही। रुपन्देहीको तौलिहवा रोडमा मार्स हस्पिटालिटी होटल निर्माण हुने भएको छ। मार्स हस्पिटालिटी ग्रुप प्रालिले ८० करोड अनुमानित लागतमा होटल निर्माण गर्न लागेको हो।
दुई वर्षमा निर्माण पूरा गर्ने लक्ष्य राखिएको होटलमा १२५ वटा कोठा रहने अनुमान गरिएको छ जहाँ २०० वटा बेड हुने छ। होटल २ बिघा १३ कट्ठा ४ धुरमा फैलिने छ।
होटल निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकनको काम अगाडि बढेको छ। कम्पनीले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमाथि स्थानीयको राय माग्न थालेको हो।
भवन सात तलाको हुने छ। भूमिगत तलमा पार्किङ, फायर प्लान्ट कोठालगायत हुने छ। भुँइतलामा रिसेप्सन, रेष्टुरेन्ट, डाइनिङका साथै ब्याङक्वेट हुने छ। पहिलो तलामा डाइनिङका साथै बार, दुई मिटिङ हल र ब्याङक्वेट हुने छ।
दोस्रो तलामा स्विमिङ पुल, जिम र योग हल, स्पा र बार हुने छ। तेस्रोदेखि सातौं तलामा पाहुना कोठा हुने बताइएको छ।