काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निजी क्षेत्रलाई अन्तरदेशीय विद्युत व्यापारका लागि अनुमति दिन कार्यविधि तयार गरिरहेको छ। निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिन मन्त्रालयले कार्यविधिको मस्यौदा तयार गरिरहेको हो।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले आन्तरिक विद्युत उत्पादन बढ्दै जाँदा अन्तरदेशीय विद्युत व्यापारमा सहयोग पुगोस भनेर निजी क्षेत्रलाई पनि अनुमति दिने तयारी मन्त्रालयले गरिरहेको जानकारी दिएकी छन्।
उनले निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिने कार्यविधिको मस्यौदा तयार भएपछि छलफल तथा रायरसुझावका लागि सरोकारवाला समक्ष लगिने पनि बताइन् । सरोकारवालाको रायरसुझाव समेटेर कार्यविधिलाई अन्तिम रूप दिने निर्णयमा मन्त्रालय पुग्ने उनको भनाइ छ।
सरकार र निजी क्षेत्रको निरन्तरको पहल कदमीबाट उत्पादनमा जस्तै सफलता विद्युत व्यापारमा पनि प्राप्त गर्न सकिने उनले विश्वास व्यक्ति गरिन् ।