कास्की। सेती नदी जलविद्युत आयोजनाको निर्माण कार्य आधा भन्दाबढी सकिएको छ। माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन २५ मेगावाटको आयोजनाको ६० प्रतिशत काम सम्पन्न भएको हो।
प्रवर्द्धक भिजन लुम्बिनी ऊर्जा कम्पनीले निर्माण गरिरहेको आयोजनाको हाल बाँध, पाइप लाइन र विद्युतगृहका संरचनाको निर्माण तीव्र गतिमा भइरहेको छ। २०७७ साउनदेखि निर्माण सुरु भएको आयोजना २७ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएकामा कार्यतालिका अनुसार नै काम अघि बढेकाले तोकिएको समयमा नै उत्पादन शुरु हुने कम्पनीले जनाएको छ।
यस आयोजनाबाट उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणको लाहाचोक सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक ५ किलोमिटर १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण गर्न जेड इन्फ्रा प्रालिसँग सम्झौता भएको छ।
यस आयोजना सम्पन्न गर्न ५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा एनएमबी बैंकको अगुवाईमा कर्मचारी संचय कोष र कृषि विकास बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन् ।
आयोजनाबाट २०७९ साल भदौदेखि विद्युत उत्पादन सुरु गर्ने लक्ष्य भएपनि सरकारले कोरोना महामारीका कारण ढिलो भएका आयोजनाको निर्माण अवधि १ वर्ष थप गरिदिएकाले अब २०८० साल भदौदेखि विद्युत उत्पादन सुरु गर्ने गरी काम भइरहेको बताइएको छ।