बझाङ। माथिल्लो सानीगाड जलविद्युत आयाेजनाको उत्पादन तालिका लम्बिएको छ। कालंगा बेसिनमा निर्माणाधीन १०.७ मेगावाटको माथिल्लो सानीगाड जलविद्युत आयोजनाको उत्पादन तालिका फेरि लम्बिएको हो।
गत बर्खाको बाढी र पहिरोका कारण क्षति पुगेको आयोजनाको संरचना तथा पहुँच मार्ग पुनर्निर्माण कार्य नसकिएकाले विद्युत उत्पादन तालिका लम्बिएको बताइएको छ।
आयोजनाबाट अब २०७९ असारभित्र विद्युत उत्पादन सुरु हुने प्रवर्द्धक बुङ्गल हाइड्रो पावर कम्पनीले जनाएको छ । आयोजनाको भौतिक संरचना निर्माणको काम ९५ प्रतिशत पूरा भइसकेको छ। गत बर्खामा असार सुरु हुनासाथ आएको बाढी र पहिरो तथा भदौ पहिलो साताको पहिरोले पहुँच सडक बगाउँदा निर्माण सकिन लागेको आयोजनाको निर्माण पूर्णरूपमा प्रभावित हुन पुगेको थियो । अहिले आयोजनाको बाँध, विद्युतगृहको काम सकिएको छ ।
नेपाल विद्युत प्राधिकरणसँग भएको विद्युत खरिद सम्झौता (पिपिए) अनुसार आयोजनाबाट २०७७ जेठमा नै उत्पादन हुनुपर्ने थियो । यो तालिकामा विद्युत उत्पादन सम्भव नभएपछि अर्को तालिका २०७७ मंसिरमा सर्यो । यो तालिकाबाट पनि विद्युत उत्पादन हुन नसकेपछि २०७८ माघ पहिलो साताभित्र विद्युत उत्पादन सुरु गर्ने लक्ष्य राखिएको थियो । विविध कारणले यो लक्ष्यमा समेत उत्पादन सुरु हुने अवस्था नदेखिएपछि नयाँ तालिका निर्धारण गरिएको हो ।
आयोजना सम्पन्न भई उत्पादन हुने विद्युत १३२/३३ केभी बलाँच सबस्टेसनमा जोडिनेछ । आयोजना सम्पन्न गर्न २ अर्ब २० करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।