काठमाडौं। नेपाल एअरलाइन्सलाई चार्टर्ड उडान कम दिएकोबारे छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समिति गठन गरेको छ।
कोभिड–१९ संक्रमणको समयमा विगतमा भएका चार्टर्ड उडानमा नेपाल एअरलाइन्सलाई कम उडानको अनुमति दिइएको सन्दर्भमा अध्ययन गर्न छानबिन समिति गठन गरिएको हो।
मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा गठन भएको समितिमा नेपाल नागरिक उड्डयन प्राधिकरणका कार्यवाहक महानिर्देशक प्रेमनाथ ठाकुर समेत छन्। छानबीन समितिले १० दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने छ।
लकडाउनका बेला विदेशबाट नेपालमा यात्रु ल्याउने प्रयोजनका लागि निजी लगानीको हिमालय एअरलाइन्सले २३१ वटा उडान गरेकोमा नेपाल एअरलाइन्सले ६५ वटा मात्र उडानको अनुमति पाएको थियो ।
नेपाल एअरलाइन्सले निजी क्षेत्रलाई पृष्ठपोषण हुने गरी निजीलाई बढी अनुमति दिइएको गुनासो गर्दै आएको छ ।