काठमाडौं। नारायणहिटी दरबार संग्रहालयभित्र रेष्टुरेन्ट सञ्चालन गर्न बतास समूहसँग गरिएको सम्झौता तोडिने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले बतास समूहसँगको सम्झौता तोडिने बताएका हुन्।
छानबिन समितिले कानुनविपरीत ठेक्का सम्झौता भएको प्रतिवेदन तयार गरेपछि बतास समूहसँगको ठेक्का सम्झौता तोड्ने प्रक्रिया थालिएको हो।
नारायणहिटी दरबार संग्राहालयमा रेष्टुरेन्ट सञ्चालनका लागि संरचना निर्माण थालिएसँगै विवाद आएपछि मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो। समितिले संग्राहलयका कार्यकारी निर्देशक भेषनारायण दाहालसमेत यसमा दोषी रहेको प्रतिवेदनमा उल्लेख गरेको छ। भेषनारायण दाहालले निर्देशक पदबाट राजीनामा दिइसकेका छन्।
कानुन विपरीत संरचना निर्माण गरिएको भन्दै मन्त्रालयले संरचना समेत भत्काइसकेको छ। यस कार्यमा क–कस्को संलग्नता थियो भन्ने विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युराले अनुसन्धान गर्ने भएको छ। नारायणहिटी प्रकरणमा संलग्नलाई कारबाही गर्न भन्दै पर्यटन मन्त्रालयले अख्तियार र प्रहरी दुवैलाई पत्रचार गरेको थियो।