सुर्खेत। तीन प्रदेश जोड्ने उद्देश्यले सुर्खेतको भेरी नदीमा बनाउन सुरु गरिएको पक्की पुल निर्माण कार्य अलपत्र परेको छ। ठकेदारको लापरवाहीले सुर्खेतको बराहताल गाउँपालिका र वीरेन्द्रनगर नगरपालिकाको सिमाना रानीघाटस्थित भेरी नदीमा बन्न लागेको पुल अलपत्र परेको हो।
कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेश जोड्ने उद्देश्यले २०६९ असार २९ गते ठेक्का सम्झौता गरी पप्पु–मल्ल जेभी कन्स्ट्रक्सनले पुल निर्माण कार्य सुरु गरेको थियो। तर‚ पुल निर्माण सुरु भएको नौ वर्ष बित्दासमेत तीनवटा पिलरमात्रै हालिएका छन्।
पप्पु–मल्ल जेभी कन्स्ट्रक्सनले तीन वर्षभित्र पुल निर्माण कार्य पूरा गर्ने सम्झौता गरी १४ करोड २९ लाख ८९ हजार रूपैयाँमा ठेक्का पाएको थियो। तर, निर्माण कम्पनीले बीचैमा काम अलपत्र छाडेको छ।
निर्माण कम्पनी तथा ठेकेदारका प्रतिनिधि कर्णबहादुर मल्लले नदीको बीचमा निर्माण हुने पिलरको जगमा कडा चट्टान भएकाले डिजाइन नै परिवर्तन गर्नुपर्ने अवस्था आउँदा काम अलपत्र परेको प्रष्टीकरण दिए। पुल निर्माणको काम अलपत्र बनेपछि सर्वसाधारण समस्यामा परेका छन्।