काठमाण्डौं। सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको सबैभन्दा पुरानो दिपायल विमानस्थलको स्तरोन्नति हुने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विमानस्थलको स्तरोन्नतिका लागि १८ करोड बजेट विनियोजन गरेसँगै विमानस्थल स्तरोन्नतिका लागि अध्ययन गर्न टोली दिपायल आइपुगेको हो।
नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक रत्नबहादुर श्रेष्ठको नेतृत्वमा आएको टोलीले दिपायल विमानस्थलको स्तरोन्नतिका लागि अध्ययन गरिरहेको जनाइएको छ।
उक्त विमानस्थललाई थ्रीसी वर्गको विमानस्थलका रूपमा स्तरोन्नति गर्ने काम सम्पन्न भए दिपायलमा ७२ सिटे जहाज उडाउन सकिने छ। अहिले दिपायल विमानस्थलको धावनमार्ग (रनवे) जम्मा ४५० मिटर मात्र रहेकामा स्तरोन्नतिका लागि एक हजार २०० मिटर लम्बाइ चाहिने अध्ययन अनुगमनमा आएको प्राविधिक टोलीले बताएको छ।
विमानस्थल स्तरोन्नतिका लागि आवश्यक पर्ने जमिन अधिग्रहणका लागि यहाँका नागरिकले पनि सहमति दिएको जनाइएको छ।