मुस्ताङ। राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका–४ स्थित लेतेखोलामा मोटर चल्ने पक्की पुल निर्माण गरिएको छ। उक्त सडक आयोजनाले लेतेखोलामा ४० मिटर लामो मोटरेबल पुल निर्माण गरेको हो।
पुल निर्माणका लागि २०७५ भदौमा ६ करोड २० लाखमा गजुरमुखी निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको थियो। छेउमा रेलिङ राख्ने र रङरोगन गर्ने काम हिमपातले रोकिए पनि गाडी चलाउन सकिन्छ।
उक्त खोलामा हाल अस्थायी बेलिब्रिजबाट यातायात सञ्चालन हुँदै आएको छ। पक्की पुल निर्माण भएसँगै लेतेखोलाको बेलिब्रिज अन्यत्र स्थानान्तरण गर्ने तयारी भएको आयोजनाले जनाएको छ।