इलाम। इलामको फाल्गुनन्द सुकिलम्बा विमानस्थलबाट उडान सुरु हुने भएको छ। फागुन ८ देखि इलाम काठमाडौं उडान हुने भएको हो।
साताको प्रत्येक आइतबार काठमाडौं–इलाम–काठमाडौं उडानको लागि तारा एयरलाइन्स र इलाम नगरपालिकाबीच सम्झौता भएको छ। हवाई यात्राको लागि एकतर्फी भाडा आठ हजार ७०० कायम गरिएको छ। आवतजावत गर्ने ११–११ जना यात्रुको ग्यारेन्टी इलाम नगरपालिकाले गर्नुपर्नेछ। ११ जना यात्रु नपुगे अपुग यात्रुको भाडा नगरपालिकाले बेहोर्नु पर्ने तारा एयरलाइन्स र ईलाम नगरपालिका बिचको सम्झौतामा उल्लेख गरिएको छ।
विमानस्थलबाट नियमित उडान भएमा इलामको पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पर्नेछ। इलाममा हवाई यात्रा नहुँदा यहाँ आउन चाहने पर्यटकहरू पनि लामो यात्रा गर्नुपर्ने झन्झटले पनि इलाम नआउने गरेको सरोकारवाला बताउँछन्। फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट नियमित उडान भए इलाम, पाँचथर सहित भारतको, दार्जिलिङ, सिक्किम लगायतका मानिसहरूलाई हवाई यात्राको लागि सहज हुनेछ।