काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले गण्डक–परासी ३३ केभी डबल सर्किट र बुटवल–ज्यामिरे (सुनवल) ३३ केभी सिंगल सर्किट प्रशारण लाइन निर्माण सञ्चालनमा ल्याएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार दुवै प्रशारण लाइन सञ्चालनमा आएसँगै परासी र सुनवल औद्योगिक क्षेत्रका विद्युत् आपूर्ति समस्या समाधान भई उद्योगलाई मागअनुसार विद्युत् दिन सकिने छ। उनले नवलपरासीको परासी र सुनवल औद्योगिक क्षेत्रका उद्योगले व्यहोर्दै आएको विद्युत् आपूर्तिको समस्या समाधान हुने बताएका छन्।
केही महिनाअघि त्यस क्षेत्रको भ्रमण गरी घिसिङले सुनवल क्षेत्रका उद्योगलाई लक्षित गरी बुटवल–ज्यामिरे प्रशारण लाइन तत्काल निर्माण अगाडि बढाउन प्राधिकरण प्रादेशिक कार्यालय, बुटवल र बुटवल ग्रिड महाशाखालाई निर्देशन दिएका थिए। १९ किलोमिटर सिंगल सर्किट प्रशारण लाइनको निर्माण दुई महिनाभित्रमा सम्पन्न गरी सञ्चालनमा ल्याइएको प्रादेशिक कार्यालय, बुटवलले जनाएको छ।
प्राधिकरणको अल्पकालीन योजनाअन्तर्गत विद्युत् माग गरेका उद्योगहरुलाई प्रशारण तथा वितरण लाइनको सुदृढीकरण तथा क्षमता विस्तार गरी तत्काल विद्युत् दिने र निर्माणाधीन आयोजनाहरुको काम जतिसक्दो छिट्टो सम्पन्न गर्ने रहेको छ।