काठमाडौं। हुम्लाको सिमकोट विमानस्थलमा हेल्थडेस्क र होल्डिङ सेन्टर स्थापना गरिएको छ। हुम्लाबाट अन्तरजिल्ला पुग्ने छोटो हवाईयात्राको माध्यम भएकाले विमानस्थलमा हेल्थडेस्क स्थापना गरिएको हो।
सोमबारदेखि सिमकोट विमानस्थलमा सिमकोट गाउँपालिका र स्वास्थ्य सेवा कार्यालयको समन्वयमा हेल्थडेस्क स्थापना गरिएको छ। प्रमुख जिल्ला अधिकारी गणेश आर्चायको संयोजकत्वमा बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले जिल्लाका मुख्य सीमानाकामा हेल्थडेस्क स्थापना गर्ने निर्णय गरेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम सिंहले जानकारी दिए।
उनले सिमकोटबाट बाहिरिने र भित्रने सबै यात्रुको तीनपुस्ते विवरण लिने र स्वास्थ्य जाँच गर्ने काम सुरु भएको बताए।
अब चाँडै पैदलमार्गबाट जिल्ला भित्रने दुई वटा नाका चङ्खेली गाउँपालिका–१ को मिमी र ताँजाकोट गाउँपालिका–१ को कवाडीमा पनि गाउँपालिकाको समन्वयमा हेल्थडेस्क र होल्डिङ सेन्टर स्थापना गर्ने तयारी भइरहेको प्रमुख सिंहले जानकारी दिए।