काठमाडौं । प्राविधिक समस्या देखिएर सोमबार दुई घण्टासम्म आकाशमा फन्को मारेको बुद्ध एअरको जहाज आज बिहानैबाट सञ्चालनमा आएको छ ।
हिजो काठमाडौं विमानस्थलमा अवतरण भएसँगै बुद्ध एअरका इन्जिनियर र नेपाल नागरिक उड्डयन प्राधिकरणका प्राविधिकले जहाजको जाँच गरेका थिए ।
चेकजाँचका क्रममा जहाजमा ‘गडबडी नभएको’ पुष्टि भएसँगै प्राधिकरणले उडान अनुमति दिएको हो । हिजो बिहान ७३ यात्रुलाई लिएर काठमाडौंबाट विराटनगर उडेको सो जहाज अवतरण गर्ने क्रममा एक इन्डिकेटरले दायाँतर्फको पाङ्ग्रा खुलेको जानकारी नगराएपछि काठमाडौं फर्किएको थियो ।
आकाशमा करिब दुई घण्टा फन्को मारेको सो जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने सामान्य अवस्थामा अवतरण गरेको थियो । उक्त जहाजले आज तीन उडान गरिसकेको छ ।