काठमाडौं। काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–६ गोरखनाथ डाँडामा पञ्चधातुबाट निर्माण गरिएको गणेश मूर्तिको अनावरण गरिएको छ। सो मूर्ति स्थानीय बासिन्दाको चन्दा सहयोगबाट निर्माण गरिएको हो।
नौ फिट अग्लो मूर्तिको १००८ स्वामी रमणानन्द गिरी, पनौती नगरप्रमुख भीम न्यौपानेले संयुक्त रुपमा अनावरण गरेका छन्।
गोरखनाथ मन्दिर डाँडामा रहेको खाली भिरालो जग्गामा करिब रु ७१ लाख रकम सङ्कलन भएकामा करिब रु ६२ लाख बराबरको लागतमा गणेश मूर्तिलगायत वरिपरि बाटिकासमेत निर्माण गरेको जनाइएको छ।
वरिपरि वन जङ्गलले घेरीएको बीचको अग्लो ठाउँमा रहेको डाँडामा रहेको मन्दीर नजिकै गणेशको मूर्ति स्थापना गरिएको छ। गोरखनाथडाँडामा रहेको सो मन्दिरसँगै मन्दिरको ठीक अगाडि निर्माण गरिएको गशेणको मूर्ति र बाटिकाले त्यहाँको धार्मिक पर्यटनका लागि अर्को आकर्षण केन्द्र बनेको छ।
माघ महिनाभर लाग्ने बाह्रवर्षे मकर मेलाको अवसर पारेर सो क्षेत्रमा थप अर्को धार्मिक पर्यटनको गन्तब्य बनाउने उद्देश्यले निर्माण गरेको गणेश मन्दिर र बाटिकाले दर्शनार्थीलाई थप आनन्द प्रदान गर्नेमा गणेश मन्दिर निर्माण उपभोक्ता समिति आशावादी रहेको उपभोक्ता समितिले बताएको छ।