काठमाडौं। खोटाङ र ओखलढुगाको सिमाना दूधकोसी नदीमा झोलुंगे पुल निर्माण हुने भएको छ। खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले र ओखलढुंगाको सिद्धिचरण नगरपालिका–१ तलुवा जोड्ने झोलुंगे पुल निर्माण हुने भएको हो।
उक्त पुलको शनिबार हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई र उपमेयर विमला राईले संयुक्त रूपमा शिलान्यास गरेका छन्। सल्लेको टिम्मुरे र तलुवाको पिप्लेलाई जोड्ने झोलुंगे पुल आगामी असारमा निर्माण सम्पन्न हुने भएको छ।
१ सय ९ मिटर लम्बाइ रहने पुल हलेसी तुवाचुङ नगरपालिकाको एक करोड ४० लाख बजेटमा निर्माण हुन लागेको हो। अहिले यस क्षेत्रका सर्वसाधारणलाई आवतजावत गर्न निकै समस्या भएको छ। झोलुंगे पुल निर्माणपछि ओखलढुंगाको नाल्सु र खोटाङको टिम्मुरेका नागरिकलाई सहज हुने भएको छ।