काठमाडौं। कोभिड १९ को तेश्रो भेरियन्टको संक्रमण बढेसँगै पर्वतको पर्यटन क्षेत्र प्रभावित बनेको छन्। करोडौँको लगानीमा निर्माण भएका सहासिक खेल सहितका संरचनाहरु अहिले कोरोनाको संक्रमण बढेसँगै मारमा परेका हुन्।
पर्वतमा करिब १ बर्ष अघि निर्माण सम्पन्न भएको विश्वकै दोश्रो अग्लो बञ्जी जम्प र विश्वकै अग्लो स्विङ सँगै हालै निर्माण सम्पन्न भएर सञ्चालनमा आएको विश्वकै दोश्रो लामो दावी गरिएको जीपलाइन प्रभावित बनेका छन्। कुश्मा बजारको व्यापार प्रबद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका संरचनाहरु कोरोनाको मारमा परेपछि अहिले पर्यटन व्यवसायमा थप समस्या भएको छ।
द क्लिफ प्रालि द्वारा सञ्चालित बञ्जी जम्प करिब ५ बर्षको अवधिमा २८ करोड बढी लगानीमा निर्माण भएको हो। निर्माण सँगै करिब १ वर्ष सहज रुपमा सञ्चालन भए पनि बेलाबखत कोरोनाको मार खेप्न बाध्य भएको सञ्चालक गुनासो छ। जिल्ला प्रशासन कार्यालय पर्वतले निषेधाज्ञा जारी गरेसँगै पर्यटन व्यवसाय ठप्प जस्तै बनेको हो।
अंग्रेजी नयाँवर्षको आगमन सँगै सञ्चालन शुरु गरिएको जीपलाईन सञ्चालन भएको केही दिनमा नै बन्द अवस्थामा पुगेको छ। झण्डै १५ करोडको लगानीमा बनेको यो जीपलाईन र बञ्जी सहज रुपमा सञ्चालनमा नआएपछि पर्वतको कुश्मा बजार क्षेत्रको चहलपहल पनि शून्य जस्तै बनेको छ भने होटल व्यवसाय पनि प्रभावित बनेका छन्। यता पर्वतका गाउँ गाउँमा सञ्चालित होमस्टेहरु समेत कोरोनाका कारण प्रभावित बनेका छन् ।