ताप्लेजुङ । जिल्लामा रहेको सुकेटार विमानस्थल विस्तारको काम अन्तिम चरणमा पुगेको छ। ८ करोड ९९ लाख लागतमा निर्माण शुरु गरिएको विमानस्थलको काम ८५ प्रतिशत पूरा भएको हो।
हाल विमानस्थलको पूर्वतर्फ रहेको डाँडा सम्याउने काम सकिएको छ भने ग्याबिन तार, ड्रेन निर्माण लगायतका काम पनि सकिएको बताइएको छ। चिसोका कारण धावन मार्गलाई कालोपत्र गर्ने काम भने भएको छैन। मौसम तातो हुनासाथ त्यो काम गरेर प्राधिकरणलाई बुझाउने गरी पिच गर्न ग्राभेल गरी ठिक्क पारिएको छ।
आर्थिक वर्ष २०७६/७७ मा विमानस्थल स्तरवृद्धि गर्न खड्का कृष्ण/बङ्गलामुखी जेभी कन्स्ट्रकशनले ८ करोड ९९ लाख ५० हजारमा ठेक्का पारेको थियो।
काम शुरु भएको दुई वर्ष अर्थात् २०७८ साल असोजभित्रमा सक्नुपर्ने भए पनि कोरोनाका कारण ६ महिना अर्थात् चैत्रसम्म म्याद थपिएको छ ।
सदरमुकाम फुङलिङ बजारदेखि आठ किलोमिटरको दूरीमा उत्तर–पूर्वमा रहेको सुकेटार विमानस्थल २०२८ सालमा बनाइएको हो । विमानस्थल समयमै स्तरोन्नति र स्तरवृद्धि नभए पनि नियमित उडान भने नरोकिएको बताइएको छ।