काठमाडौं। गौतबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एक महिनाभित्र नै परीक्षण उडान गर्ने तयारी गरिएको छ । क्यालिबे्रसन फ्लाइट गर्न थाइल्यान्ड, अमेरिका र युरोपका प्राविधिक केही दिनमा आउने र एक महिनाभित्र परीक्षण उडान गरिने भएको हो।
अहिले विमानस्थलको पूर्वाधार निर्माणको काम सकिएको छ भने विमानस्थलमा जडान भएका उपकरणहरूको परीक्षण गर्न परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) मात्र बाँकी छ ।
कोरोनाकाल अगाडि विभिन्न मुलुकका प्राविधिकहरूले विमानस्थलको लाइटिङको काम गरिसकेका छन् ।
कोरोनाका कारण थाइल्यान्डले आफ्नै नागरिकलाई बाहिरी देश जाने अनुमति नदिँदा एक वर्षदेखि यो काम अलमलिँदै आएको थियो । अहिले अस्ट्रेलियन प्राविधिक आएर नेपाल नागरिक उड्डयन प्राधिकरणका १० जनालाई तालिम दिँदै छन् । जनवरी २४ मा थाइल्यान्डका प्राविधिक आउँदै छन् भने केही दिनमा अमेरिकाबाट पनि प्राविधिक आइपुग्ने भएपछि क्यालिब्रेसन फ्लाइट हुने भएको छ।
विमानस्थलमा सञ्चारदेखि लाइटका उपकरण जडानसम्मको जिम्मा थाइल्यान्डको एरो थाई कम्पनीलाई थियो । कोरोनाका कारण एरो थाईका प्राविधिकहरू आउन नपाउँदा एक वर्ष अगाडि गर्नुपर्ने काम सर्दै आएको छ ।