दाङ। लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले राजधानी निर्माण र व्यवस्थापनको काम चाँडै सक्न निर्देशन दिएका छन्। उनले आगामी फागुन १२ गतेभित्र प्रदेशको राजधानी व्यवस्थापन तीव्र गतिमा गर्न राप्ती प्राविधिक शिक्षालयलाई निर्देशन दिएका हुन्।
राजधानी व्यवस्थापन तथा राप्ती प्राविधिक शिक्षालयको स्तानान्तरण समितिको बैठकमा मुख्यमन्त्री केसीले राजधानी निर्माणका लागि शिक्षालयले छिटो प्रक्रिया अगाडि बढाइ दिए त्यसमा ग्रामीण पर्यटन एवं पूर्वाधार मन्त्रालयले व्यवस्थापनका लागि सबै तयार गर्ने बताए।
उनले प्रदेश सरकारले स्तानान्तरणका लागि कार्ययोजना बनाएर पेश गर्न शिक्षालयलाई १० करोड रुपैयाँ प्रदान गरेको उल्लेख गर्दै भने, “तपाईंहरुले प्रदेश सरकारमा कार्ययोजना बनाएर पठाउनुहोस्। प्रदेश सरकारका मन्त्री, प्रमुख सचिव, सचिवले पनि सहयोग गर्नेछन्।”
बैठकमा ग्रामीण पर्यटन तथा शहरी विकासमन्त्री डिल्ली चौधरीले प्रदेशको राजधानी निर्माणका लागि सबै काम आफ्नो मन्त्रालयले काम गरी दिने प्रतिबद्धता व्यक्त गरे। शिक्षामन्त्री बसी उद्दिन खाँले शिक्षा क्षेत्रलाई प्रदेश सरकारले पहिलो प्राथमिकता राखेकाले आगामी दिनमा पनि राप्ती प्राविधिक शिक्षालयको विकासमा लागि पर्ने बताए।