म्याग्दी। बेनी नगरपालिका–२ हाँडेभिरमा सडक र मोटरेबल पुल अतिक्रमण गरी टहरा बनाएर सटर भाडामा लगाइएको छ। सडक र पुलको क्षेत्राधिकार अतिक्रमण गरेर निर्माण भएको टहरा हटाउन नगरपालिकाले दिएको निर्देशन पालना भएको छैन।
टहरा बनाएर भाडामा लगाउने व्यवसायी कुलप्रसाद घर्ती र नगरपालिकाबीच भएको सम्झौताको अवधि एक वर्षअघि नै सकिएको थियो। बागलुङ–बेनी सडकअन्तर्गत बेनी नगरपालिका–२ हाँडेभिर र ७ को सिमाना भएर बग्ने म्याग्दी नदीमाथि रहेको मोटरेबल पुलसँगैको जग्गा व्यवसायी घर्तीले विसं २०७२ माघ १ गते वार्षिक १० प्रतिशतका दरले बढ्ने गरी रु पाँच हजार तिर्ने गरी पाँच वर्षका लागि भाडामा लिएका थिए।
सम्झौताविपरीत पुलसँग जोडी संरचना निर्माण गरेको र निर्धारितभन्दा बढी जग्गा प्रयोग गरेको भन्दै नगरपालिकाले विसं २०७७ माघदेखि सम्झौता रद्द गर्ने निर्णय गर्दै ३० दिनभित्र खाली गराउन निर्देशन दिएको थियो।
बेनी नगरपालिकाको कार्यालय अगाडि नै रहेको पुलसँग जोडिएका टहराका कारण सवारीसाधन र पैदलयात्रुलाई आवतजावतमा असहज भएको छ। दुर्घटनाको जोखिम बढेको छ। व्यवसायी घर्तीले भने आफूले अतिक्रमण नभएर राज्यलाई कर तिरेर पुलको संरक्षण गरेको दाबी गरे। खेर गएको ठाउँमा उद्योग चलाएर ५० जनालाई रोजगारी दिएको उनले बताए।