दार्चुला । व्यास गाउँपालिकामा वैकल्पिक बाटो नबन्दा वर्षौँदेखि तुइनमा झुन्डिएर यात्रा गर्नुपर्ने बाध्यता छ । व्यास– २ को दुम्लिङ–राप्ला–मालको लागि वैकल्पिक बाटोको व्यवस्था नहुँदा स्थानीय तुइनमा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन्।
राप्ला र मालगाउँका लागि स्थानीय सरकारले हेलिकोप्टरमार्फत खाद्यान्न गाउँ पुर्याए पनि दुम्लिङका स्थानीयको लागि खाद्यान्न ढुवानी हुन नसक्दा अहिले तुइनबाट खाद्यान्न ढुवानी भइरहेको छ। दुम्लिङका स्थानीय जोखिम मोलेर आवतजावत गर्न बाध्य भएका स्थानीय महेन्द्र बुढाथोकीले बताए। यो क्षेत्रमा दुई वर्षअघिसम्म काठको पुलमार्फत महाकाली वारपार हुने गर्थ्यो ।
कोभिड–१९ महामारीसँगै यस क्षेत्रमा लगाइएको काठेपुल भत्काइएको हो। त्यसयता अहिले स्थानीय तुइनबाट आवतजावत गरिरहेका छन्। गत साउन १५ गते व्यास गाउँपालिका– २ कै जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएयता स्थानीय अहिले तुइनबाट आवतजावत गर्न निकै डराइरहेका छन्। यद्यपि, तुइनको विकल्प नभएपछि अहिले पनि तुइनकै सहारामा महाकाली आवतजावत गर्न बाध्य हुनुपरेको छ।
व्यासको दुम्लिङ सडक अहिले नै पुग्न सक्ने अवस्था छैन। यो क्षेत्रमा भर्खर मात्र नेपाली सेनाले सडक निर्माणको काम थालनी गरेको छ। व्यास– ३ तुसरपानी क्षेत्रमा सडक निर्माणमा भएको बेवास्ताले पनि नेपालीले दुःख पाएको दुम्लिङका स्थानीय प्रभात बुढाथोकी बताउँछन्।