काठमाडौं। नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०७८/७९ को पहिलो पाँच महिनामा वितरणतर्फको विद्युत चुहावटलाई घटाएर ९.१० प्रतिशतमा झारेको छ। गतवर्षको मंसिरसम्मको वितरणतर्फको सञ्चित चुहावटको तुलनामा यस वर्ष २.८२ प्रतिशत विन्दुले घटाएको हो।
गत वर्ष मंसिरसम्मको वितरणतर्फको विद्युत चुहावट ११.९२ प्रतिशत थियो। अहिले ९.१० प्रतिशतमा झरेको छ। प्रणालीमा रहेको विद्युत चुहावटमध्ये सबैभन्दा ठूलो हिस्सा वितरणतर्फको हुन्छ। प्राधिकरणले चालु आवमा समग्र प्रणालीको विद्युत चुहावट १५.५ प्रतिशतमा र वितरणतर्फको चुहावटलाई ९.५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ।
प्राविधिक र गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि चालिएका कदमलाई अझै सशक्त र प्रभावकारी बनाएर चुहावटलाई लक्ष्यभन्दा अझै कम बनाउने गरी सम्पूर्ण टिम परिचालन गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए।
कार्यकारी निर्देशक घिसिङले यस अवधिमा नयाँ सबस्टेसन निर्माण सम्पन्न भएको, सञ्चालमा रहेका सबस्टेसनको स्तरोन्नति गरिएको, औद्योगिक क्षेत्रमा विद्युत खपत बढेको, मिटर रिडिङलाई प्रभावकारी बनाउँदा ग्राहककोमा सञ्चित रहेको युनिट विलिङ भएको लगायतका कारणबाट चुहावट घटेको उल्लेख गरे।