काठमाडौं। म्याग्दीको पौराणिक स्थल पछैमा रावण पार्क (उद्यान) निर्माण गर्न सुरु गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उद्यन मन्त्रालयसँगको साझेदारीमा बेनी नगरपालिकाले वडा नम्बर ५ मा उद्यान निर्माण शुरु गरिएको हो।
ठेक्का पाएका निर्माण ब्यवसायी उद्यान निर्माणका लागि परिचालन भएका जनाइएको छ। अहिले रावणको मुर्ति बनाउनेसँगै पछैमा आएर प्रारम्भिक चरणको काम शुरु भएको छ। रावण उद्यान बनाउन गत भदौमा काठमाडौको धर्मा एस कास्यप जेभीले गत सोही महिनामा रु. एक करोड ७६ लाख ७७ हजार ५६३ मा ठेक्का सम्झौता गरेको थियो।
काठमाडौमा रावणको मुर्ति तयार पार्ने काम भैरहेको छ। विसं २०६६ मा म्याग्दी उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष प्रमोदकुमार श्रेष्ठ लगायतले धार्मिक पर्यटकलाई लक्षित गरेर बेनीमा उद्यान बनाउने योजनाको परिकल्पना गरेका थिए।
पछैमा पौराणिक महत्व झल्कने किसिमको रावणको आकर्षक मुर्ति राख्ने, बगैचा निर्माण, नाबी गाडेको लगायत ठाउँको संरक्षणका लागि पुर्बाधार र दुई सय मिटर कालोपत्रे गर्ने योजना छ। विसं २०७४ देखिनै बजेट बिनियोजन गरेपनि ठाउँको बिवाद र स्रोतको अभावमा रामायण उद्यानको योजना कार्यान्वयन हुन सकेको थिएन्। मुक्तिनाथ प्रवेशद्वार गलेश्वर, पुलाचौरको पछै, जगन्नाथ र टोड्के क्षेत्रलाई समेटेर धार्मिक कोरिडोर बनाउने योजना पनि अघि सारिएको छ।