विराटनगर। भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपाल–भारत सीमा क्षेत्रको दशगजामा निर्माण गरेको सुरक्षा पोष्ट हटाएको छ। मोरङ प्रशासनले भारतीय प्रशासनसँग समन्वय गरी पोस्ट हटाउन गरेको आग्रहपछि सोमबार एसएसबीले पोष्ट हटाएको हो।
एसएसबीले विराटनगर महानगरपालिका–१६ दरैया र जोगवनीको टिकुलिया बस्तीबीचको दशगजामा सुरक्षा पोस्ट निर्माण गरेको थियो। प्रमुख जिल्ला अधिकारी काशीराज दाहालसहित जिल्लास्थित सुरक्षा निकायको समन्वयमा उक्त पोस्ट हटाउन आग्रह गरिएको थियो।
‘दशगजाभित्रै सुरक्षा पोस्ट देखिएकोले भारतीय पक्षलाई पोष्ट सार्न आग्रह गरिएको थियो, उनीहरुले कोभिडमा आवश्यक सुरक्षाका लागि भन्दै अस्थायी पोस्ट राखेको बताएका थिए। सोमबार पुनः अनुगमन गर्दा पोस्टलाई दशगजाभन्दा बाहिर सारेको बताइएको छ।
भारतीय पक्षले अन्तर्राष्ट्रिय सिमामा कुटनीतिक मर्यादा र अन्तर्राष्ट्रिय कानुनविपरित दसगजामै पोस्ट बनाएर एसएसबीलाई राखेपछि चौतर्फी विरोध भएको थियो। पोस्ट हटाएपछि त्यसको जानकारी गृह मन्त्रालयमा समेत पठाइसकेको जनाइएको छ।