कालीकोट। कर्णाली करिडोर राजमार्गसँग जोडिएको छ। करिडोर राजमार्गसँग जोडिएपछी स्थानीयलाई सहज भएको हो।
पक्की पुल नहुँदा झोलुंगेपल र फेरीबाट आवतजावतसँगै खाद्यान्नलगायतका सामग्री ओसारपसार गर्नुपर्ने बाध्यता थियो। कर्णाली करिडोरमा पर्ने उक्त स्थानमा पक्की पुल बनेपछि स्थानीयले खेप्दै आएको सास्ती हटेको हो। कर्णाली राजमार्गबाट करिडोर जोड्ने खुलालु पुल सञ्चालनमा आएपछि सहज भएको स्थानीयले बताए।
पुल नहुँदा बढी मुल्यमा दैनिक उपभोग्य समान किन्नु पर्ने बाध्यता रहेको थियो। अहिले उपभोक्ताले सस्तो मूल्यमा दैनिक उपभोग्य वस्तु पाउन थालेका छन्। फेरीबाट ज्यानको बाजी राखेर गाडी तार्नुपर्ने बाध्यता हटेको चालकहरुले बताए।
उक्त पुल १५ करोड ९२ लाख रुपैयाँ लागतमा निर्माण भएको हो। स्टिल ट्रससहित पुलको लम्बाइ ७५ र चौडाइ ९ मिटर रहेको छ।