ताप्लेजुङ। तमोर खोला–५ जलविद्युत आयोजनाको उत्पादन अनुमतिपत्र लिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। रिभर साइड हाइड्रो इनर्जी कम्पनीले निर्माण गर्न लागेको ३७.५ मेगावाटको तमोर खोला–५ जलविद्युत आयोजनाको उत्पादन अनुमतिपत्र लिने प्रक्रिया पूरा हुन लागेको हो।
कम्पनीले ताप्लेजुङको फत्ताङलुङ गाउँपालिका भएर बग्ने खोलामा पहिचान भएको आयोजना अघि बढाउन लागेको हो।
विद्युत विकास विभागले कम्पनीलाई उत्पादन अनुमतिपत्र दिन ३५ दिने सूचना जारी गरेको छ।
विभागका अनुसार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वातावरणीय प्रभाव मूल्याङकन प्रतिवेदन र आयोजनाको अध्ययन रिपोर्टका आधारमा प्रवद्र्धक कम्पनीलाई उत्पादन अनुमतिपत्र दिने तयारी भइरहेको छ ।
विभागले अनुमतिपत्र जारी गर्नुअघि आयोजना निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरका बारेमा सम्बन्धित सरोकारवालासँग रायसुझाव मागेको छ । विभागले सूचना जारी भएको मितिले ३५ दिनभित्र प्राप्त हुने गरी रायसुझाव पठाउन सरोकारवाल समक्ष आग्रह गरेको छ ।
यस आयोजनाबाट २०८० साउनभित्र विद्युत उत्पादन सुरु गर्ने गरी प्रस्ताव पेश गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आयोजना पूरा भएपछि वार्षिक २१७.५२ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ ।