काठमाडौं। मुडे-चरीकोट सडक खण्डको ३० किलोमिटर सडक विस्तारको जिम्मा पाएको भारतीय निर्माण कम्पनीसँगको सम्झौता तोडिने भएको छ।
सडक विस्तारको काम ६ वर्षदेखि अलपत्र पार्ने भारतीय निर्माण कम्पनी सकिल हैदर/शंकरमाली/सुनौलो खिम्ती जेभीसँगको सम्झौता तोड्न लागिएको हो।
लामोसाँघु-जिरी सडक विस्तार आयोजना प्रमुख कृष्णराज पन्तले कानुनी तरिकामा जाँदा प्रक्रिया लामो हुने भएकाले ठेक्का मात्रै तोड्न लागिएको बताए। सरकारको खरिद ऐन अनुसार जाने हो भने आयोजनामा लाग्ने थप खर्च ठेकेदार कम्पनीबाट असुलउपर गर्नुपर्ने प्रावधान छ। यस लागि पनि कानुनी प्रक्रिया एकदम लामो रहेको पन्तले बताए।
भारतीय सहयोगमा बनिरहेको सडक भएकाले ठेक्का तोड्दा आर्थिक भार नेपाल सरकारलाई नै पर्ने भएकाले स्रोतको सुनिश्चितता गरेर मात्रै ठेक्का तोडिने पन्तले बताए। सोही अनुसार विभागले ठेक्का सम्झौता तोड्ने प्रक्रिया अगाडि बढाएको उनले जानकारी दिएका छन्।
६ वर्ष अघि ठेक्का लिएर निर्माण कम्पनीनै काम अलपत्र पार्दै बेलाबेलामा सम्पर्कविहीन हुने गरेको थियो। ठेक्का तोड्नका लागि फाइल आयोजना निर्देशनालयलाई जिम्मा लगाइएको छ।
६ वर्षमा ५ किलोमिटर कालोपत्रे भएको यो खण्डको सडक हाल उस्तै भएको छ। निर्माण व्यवसायीले कमसल काम गरेका कारण कालोपत्रे बिग्रिएको आयोजनाको दाबी छ। आयोजनाले पटक पटक ताकेता गर्दा पनि निर्माण कम्पनीले बेवास्ता गरेको पन्तको भनाइ छ। यो खण्डमा रहेको ३० किलोमिटर सडक विस्तारको काम २०७२ सालमा दुई वर्षमा कालोपत्रे समेत सक्ने गरी ठेक्का सम्झौता भएको थियो।