काठमाडौं। चितवनमा सडक विस्तारका क्रममा खनिएको खाल्डोमा पसेर गैंडा मरेको विषयमा छानबिन गर्न समिति गठन गरिएको छ। वन तथा भू-संरक्षणमन्त्री रामसहाय प्रसाद यादवले वन तथा भू संरक्षण विभागका उपमहानिर्देशक डा.राजेन्द्र केसीको संयोजकत्वमा समिति गठन गरेका हुन्।
समितिमा वन तथा वातावरण मन्त्रालयका कानुन उपसचिव रामजी दनाई, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका योजना अधिकृत दिलबहादुर पुर्जा पुन, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य र डिभिजन वन कार्यालय चितवनका डिभिजनल वन अधिकृत पदमराज नेपाल सदस्य छन् ।
समितिलाई घटनाबारे छानबिन गरी प्रतिवेदन तयार गर्न १० दिनको समय दिइएको छ । माघ ९ गते चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रस्थित पूर्वपश्चिम राजमार्गको वरण्डाभार वन खण्डमा सडक विस्तारको क्रममा खनिएको खाल्डोमा फसेर गैंडा मरेको थियो ।