काठमाडौं। काठमाडौं–रक्सौल रेलमार्गको विस्तृत अध्ययनका लागि भारतीय टोली नेपाल आउने भएको छ।
काठमाडौं–रक्सौल रेलमार्गको ‘फाइनल लोकेसन सर्भे’का लागि भारत सरकारले नेपालमा उपकरण आयातको प्रक्रिया थालेको छ । यसको सर्भेका लागि २२ असोज २०७८मा नेपाल र भारतबीच द्विपक्षीय समझदारी (एमओयू) भएको थियो ।
एमओयूअनुसार रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन भारतले आफ्नै खर्चमा भारतीय सरकारी कम्पनीमार्फत तयार गर्नेछ ।
भारतले आफ्नो प्रविधि र प्राविधिक टोली नेपाल पठाउन आवश्यक प्रक्रिया अघि बढाएको छ । रेलमार्गका लागि हुने सर्भेका लागि चाहिने यन्त्र, उपकरण र गाडी भन्सार छुटमा नेपाल भित्रिन दिन भारतले आग्रह गर्दै पत्र लेखेको छ । त्यसका लागि रेल विभागले अर्थ मन्त्रालयसँग समन्वय गरिरहेको बताइएको छ।