तनहुँ। म्याग्दे गाउँपालिका–६ स्थित भुलभुलेमा सिङ्गापुरे सिपाहीबाट अवकाश लिएका पोखरा निवासी बकबहादुर गुरुङले रिसोर्ट निर्माण गरेका छन्। खेतीका लागि खरिद गरेको जमिनमा सिँचाइको सुविधा नभएपछि गुरुङले रिसोर्ट निर्माण गरेका हुन्।
गुरुङले करिब रु साढे चार करोड खर्च गरी सिंह भिलेज रिसोर्ट प्रालि निर्माण गरेका छन्। पृथ्वीराजमार्गसँगै जोडिएको खेत देख्दा रहर लागेर किनेको तर खेत रोप्न पानीको सुविधा नभएपछि विकल्पका रूपमा रिसोर्ट बनाउन लागेको गुरुङले बताए ।
उनले भने, “राजमार्गसँगै जोडिएको जग्गा भएकाले केही गरौँ भनेर रिसोर्ट निर्माण गरेको हुँ ।” रिसोर्टसम्बन्धी आफूलाई कुनै पनि जानकारी नभए पनि काम गर्न सक्छु भनेर करिब नौ रोपनी क्षेत्रफलमा स्वीमिङ पुल, कटेजलगायतका भौतिक संरचना निर्माण गर्ने काम भइरहेको उनले जानकारी दिए ।
स्वदेशमा रहेर केही गरौँ र केही व्यक्तिलाई रोजगारी दिऔँ भन्ने भावना पलाएपछि आफू यसतर्फ अग्रसर भएको गुरुङ बताउछन् । उक्त रिसोर्ट निर्माण गर्न थालेको दुई वर्ष बितिसक्यो अझै सम्पन्न भएको छैन । उनले भने, “अघिल्लो वर्षको कोरोनाले पनि काम गर्न सकिएन, अहिले पनि उही चाल होलाजस्तो देखिएको छ ।”