काठमाडौं। मदन भण्डारी राजमार्गमा १५ वटा पक्की पुल बन्दै छ। राजमार्गको धुलियाबिटदेखि भेडाबारीसम्म १२ वटा र पश्चिम खण्डमा तीन वटा पुल निर्माण हुने भएको हो।
सुर्खेतको पश्चिम खण्ड अन्तर्गत विद्यापुर खोला, गुटु खोला र बिउरेनी खोलामा तथा पूर्वी खण्डमा कल्याणको थोत्री खोला, खहरेखोला, गमखोला, चिङगाढ खोला, गंगटेखोला, करैखोला र रतु खोलालगायत विभिन्न खोलामा १२ वटा पुल निर्माण गर्न लागिएको छ।
चालु आर्थिक वर्षमा सानाठूलागरी १५ वटा पक्की पुल बन्नेछन्। १५ वटै पुल निर्माणका लागि ठेक्का प्रक्रिया अगाडि बढेको छ। १५ वटा पुलमध्ये अधिकांश ठूलाहुन् भने केही साना पनि छन्।
यतिबेला मदन भण्डारी राजमार्ग अन्तरगत सुर्खेत खण्डमा स्तरोन्नतिको काम अगाडि बढेको छ। यो राजमार्गको सुर्खेत खण्ड अन्तर्गत पूर्वी क्षेत्रमापर्ने धुलियाबिटदेखि भेडाबारीसम्मको सडकमा स्तरोन्नतिको काम सुरु भएको हो।
तर विवादका कारण जिल्लाकै पश्चिम क्षेत्रमा भने स्तरोन्नतिको काम सुरु हुन सकेको छैन। सुर्खेतमा राजमार्गले समेट्ने पूर्वी खण्डमा स्तरोन्नतिको काम सुरु भएसँगै पक्की पुल निर्माणको प्रक्रिया पनि अघि बढेको आयोजनाले जनाएको छ।