काठमाडौं। नेपालबाट चोयु हिमाल आरोहण गर्न मार्ग (रुट) निर्माण गरिने भएको छ। पहिलो पटक नेपालतर्फबाट आरोहण सफल बनाउन मार्ग निर्माण गर्न लागिएको हो।
१० जना नेपाली आरोही तथा गाइडहरुले पहिलो पटक नेपालतर्फबाट आरोहण सफल बनाउन मार्ग निर्माण गर्न आधारशिविरतर्फ लागेका छन्। नौ पटक सगरमाथाको सफल आरोहण गरी ३४ पटक अन्य अग्ला हिमालहरुको आरोहण गरिसकेका आरोही गाइड लाक्पा देण्डी शेर्पासहित १० जना आरोही गाइडहरुले मार्ग निर्माण गर्ने भएका हुन्।
आठ हजार १८८ मिटर अग्लो चोयु हिमाल हालसम्म नेपालतर्फबाट आरोहण हुनसकेको छैन। मार्ग निर्माण टोलीमा सात पटक सगरमाथा आरोहण सम्पन्न गरेका कर्मागेल्जेन शेर्पासहित अन्य अनुभवी आरोही गाइडहरु छन्। टोलीले यसै महिना मार्ग निर्माण गरिसक्ने लक्ष्य राखेको जनाइएको छ।
चीन र नेपालको सीमा रहेको यो हिमाल आरोहणमा पटकपटक प्रयास भए पनि सफल हुनसकेको छैन। आधारशिविरसम्म पुग्ने मार्ग नै अभाव हुँदा हिमाल आरोहण सम्भव नभएको र मार्ग निर्माणपछि सयौं आरोहीले हिमाल आरोहण गर्ने विश्वास गरिएको छ।