चितवन। एक वर्षको अवधिमा भारतपुर विमानस्थलबाट दुई लाखभन्दा बढी यात्रुले सेवा लिएका छन्। २०२१ जनवरिदेखि डिसेम्बरसम्म भएका उडान अवतरणमार्फत २ लाख २ हजार ९७३ जना यात्रुले सेवा लिएका हुन् ।
यस अवधिमा भरतपुर विमानस्थलमा ६ हजार ५९६ पटक उडान र अवतरण भएको थियो । कोरोनाका कारण मे महीनाको केही दिन र जुन महीनामा नियमित उडान र अवतरण भएको छैन सो अवधिमा चार्टर उडान गरिएको विमानस्थल कार्यालयले बताएको छ ।
कार्यालयका अनुसार पछिल्लो समय भरतपुर विमानस्थल भएर सेवा लिने यात्रुको चाप बढ्दै गएको छ।
उडान संख्या थपिएसँगै यात्रुको संख्या पनि बढ्दै गएको बताइएको छ। विशेष गरी विभिन्न राजनीतिक सभा सम्मेलन, चाडबाड तथा नारायणगढ –मुग्लिन सडकखण्डको बाटो अवरुद्ध भएको बेलामा हवाईयात्रुको चाप बढेको कार्यालयले जनाएको छ। भरतपुर विमानस्थल भएर हाल काठमाडौं ,पोखरा, भैरहवा दैनिक उडान हुने गरेको छ ।