खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङमा सञ्चालित योजनाहरूमा अनियमितता भएको भन्दै स्थानीयले विभिन्न निकायमा उजुरी दिएका छन्। सडक, विद्यालय, सामुदायिक वन, एकीकृत बस्ती लगायत विकास योजनाहरूमा अनियमितता भएको भन्दै स्थानीयले उजुरी दिएका हुन्।
बुवालुङको खावाडाँडास्थित एकीकृत बस्ती अनियमिततापछि अलपत्र परेको भन्दै छानबिन र कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालसमक्ष गत माघ ७ गते उजुरी परेको थियो ।
स्थानीयले उजुरी दिएपछि प्रशासनले छानबिन शुरु गरेको छ।सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरी छानबिन अघि बढाइएको हो ।
उक्त समितिमा सब डिभिजन कार्यालय दिक्तेलका सहायक वन अधिकृत राजदेव ठाकुर, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका अधिकृत मोहन राउत र सघन शहरी तथा भवन निर्माण आयोजनाका इन्जिनियर विनोद मण्डल सदस्य छन्। उक्त समितिले पाँच दिनभित्र छानबिन सकेर प्रतिवेदन बुझाउने बताइएको छ।