सुर्खेत । सुर्खेत–दैलेख सडकखण्डका सडकमा भएका खाल्डाखुल्डी टालटुल गर्न थालिएको छ । तत्काल सडक स्तरोन्नति नहुने भएपछि थप क्षति हुन नदिन खाल्डाखुल्डी पुर्न थालिएको हो।
सडक डिभिजन कार्यालय सुर्खेतले विभिन्न चरणमा गरेर हर्रेदेखि दैलेखसम्म जोड्ने सडकमा रहेका खाल्डाखुल्डी पुर्न थालिएको जनाएको छ ।
हर्रेदेखि सुब्बाकुनासम्मको खाल्डाखुल्डी पुर्न र सडक मर्मतका लागि ४४ लाख रुपैयाँ खर्च लाग्ने बताइएको छ । मौसम खराबीका कारण समयमै सडक मर्मत हुन सकेको छैन ।
त्यस्तै फोरलेन सडक र दैलेखका विभिन्न सडक खण्डमा पनि खाल्डाखुल्डी पुर्ने तथा मर्मत सम्भारको प्रयास भइरहेको छ । फोरलेन सडक र अन्य खण्डमा गरी दुई चरणमा सडक मर्मत गरिने बताइएको छ ।
फोरलेनसहित दैलेख खण्डसम्म सडक मर्मत गर्न मात्रै दुई करोड ६२ लाख रकम खर्च हुने अनुमान गरिएको छ । खड्का श्री वासना न्यू दिपक जेभीले फोरलेन खण्डमा खाल्डाखुल्डी पुर्ने काम गरिरहेको छ ।