म्याग्दी। बेनी नगरपालिका–५ बगुवाखोलास्थित म्याग्दी नदीको बगरमा मापदण्डविपरीत नदिजन्य पदार्थको उत्खनन भएको छ। जिल्ला अनुगमन समितिले म्याग्दी नदीको स्थलगत अनुगमनबाट सम्झौताभन्दा बढी नदीजन्य वस्तु निकालेको भेटेको हो।
मापदण्डभन्दा बढी नदीजन्य वस्तु कम्पनीले निकालेपछि जिल्ला अनुगमन समिति स्थलगत अनुगमनमा पुगेको थियो । समितिले कानुनमा रहेको नदीजन्य वस्तु उत्खननसम्बन्धी नियम, प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन र बेनी नगरपालिकासँंग भएको सम्झौताविपरीत जुम्ली निर्माण सेवाले उल्खनन् गर्दै आएको पाइएको जनाएको छ।
निर्माण कम्पनीले सम्झौताविपरीत तोकिएको भन्दा गहिरो खाडल बनाएर उत्खनन गरेको भेटिएको अनुगमन समितिले जनाएको छ। जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर कटुवालको नेतृत्वमा पुगेको अनुगमन समितिले कानुनमा नदीको सतहदेखि ९० सेन्टिमिटर उत्खनन गनुपर्ने मापदण्डभन्दा एक मिटर ७६ सेन्टिमिटर गहिरो गरी उत्खनन गरेको भेटाएको छ ।
कम्पनीले तीन हजार ७ सय ४२ घनमिटर उत्खनन गर्नुपर्नेमा नौ हजार २ सय ५१ घनमिटर उत्खनन भएको अनुगमन समितिले जनाएको छ। सम्झौताभन्दा बढी उत्खनन गरेवापत कारबाहीका विषयमा अनुगमन समितिको बैठकले निर्णय गर्नेछ ।
अनुगमनमा केसी संँगै नगरप्रमुख हरिकुमार श्रेष्ठ, कोष तथा लेखा नियन्त्रक युक्तप्रसाद शर्मा, प्रमुख प्रशासकीय अधिकृत ढोलकराज ढकाल, प्रहरी नायव उपरीक्षक हरिबहादुर गुरुङ, अनसन्धान अधिकृत विजय पौडेललगायत प्रतिनिधि पुगेका थिए ।