काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ कर्मचारी र ९ सिमेन्ट उद्योगविरुद्ध मुद्दा दायर गरेको छ। आयोगले बुधबार खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेसहित १८ कर्मचारी तथा ९ सिमेन्ट उद्योगीविरुद्ध मुद्दा दायर गरेको हो।
विभिन्न सिमेन्ट उद्योगले खानी दोहन गरी उत्खनन् अनुमतिपत्रमा तोकिएको निर्धारित परिमाणभन्दा बढी चुनढुंगा निकालेको अख्तियारको आरोप छ। सरकारी कर्मचारी र व्यवसायीको मिलेमतोले राज्यलाई १ अर्ब २४ करोड ४५ लाख भन्दा बढी हानी नोक्सानी पुगेको अख्तियारको दाबी छ ।
अख्तियारले मुद्दा दायर गरेका उद्योगहरूमा सर्वोत्तम सिमेन्ट लिमिटेड, सिद्धार्थ मिनरल्स प्रालि, मारुती सिमेन्ट लिमिटेड, अन्नपूर्ण क्वेरिज प्रालि, उदयपुर मिनरल्स टेक प्रालि, युनाइटेड सिमेन्ट प्रालि, सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड, कन्चन क्वेरिज प्रालि र डोलोमाइट चुनढुंगा उद्योग प्रालि रहेका छन् । मुद्दा दायर भएका उद्योगहरूमा सबैभन्दा बढी बिगो माग दाबी गरिएका उद्योगीमा सिद्धार्थ मिनरल्स उद्योगका पशुपति मुरारका रहेका छन् । मुरारकासँग ४९ करोड ४५ लाख माग दाबी गरिएको छ ।
खानी तथा भूगर्भ विभागले २०७६ जेठ १४ मा विभिन्न ९ वटा सिमेन्ट उद्योगले निर्धारित परिमाण भन्दा बढी चुनढुंगा निकालेको उल्लेख गरेको भन्दै पेश गरेको प्रतिवेदनमा १ अर्ब २६ करोड १९ लाख ४८ हजार क्षतिपूर्ति राजस्व उठाउनुपर्ने सिफारिस भएको थियो । तत्कालीन उपमहानिर्देशक (हाल महानिर्देशक) रामप्रसाद घिमिरेको नेतृत्वमा गठित ३ सदस्यीय समितिले नै यो सिफारिस गरेको थियो । तर सिमेन्ट तथा चुनढुंगा कम्पनीहरूबाट लिनुपर्ने क्षतिपूर्ति नलिई मिति २०७७ जेठ १५ गते जयराज घिमिरेको संयोजकत्वमा गठित समितिको प्रतिवेदन बमोजिम जम्मा १८ लाख मात्र जरिवाना लिएर उन्मुक्ति दिइएको भन्दै अदालतमा मुद्दा परेको हो ।