काठमाडौं। युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथकले भरतपुरस्थित निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निरीक्षण गरेका छन्। मन्त्री अथकको नेतृत्वमा मन्त्रालयका सचिव दामोदर रेग्मी सहितको टोलीले बिहिबार रंगशालाको स्थलगत निरीक्षण गरेको हो।
निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाबारे भरतपुर महानगरपालिकाद्धारा आयोजित अन्तरक्रियामा सहभागी हुन चितवन पुगेका मन्त्री अथकले रंगशालाको निरीक्षण तथा अवलोकन गरेका हुन्।
निरीक्षणका क्रममा मन्त्री अथकले रंगशाला निर्माण गरेरै छाड्ने प्रतिवद्धता जनाए। उनले यो रंगशालालाई गौरबको आयोजनामा समेटी यही आर्थिक वर्षबाट काम सुरु हुनेगरी तयारी थाल्न मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन समेत दिएका छन्।
नेपालकै गौरवको आयोजनाका रुपमा रहेको उक्त परियोजना अलपत्र हुने अवस्था सिर्जना हुनु दुःखद भएको भन्दै मन्त्री अथकले भरतपुर महानगरपालिका, प्रदेश र केन्द्र सरकारको सहकार्यमै रंगशाला निर्माण कार्य सम्पन्न गरिने बताए।
उनले लगानीको स्रोत पहिचान गरेर रंगशाला निर्माणका बाँकी काम पूरा गर्ने प्रतिबद्धता जनाएका छन्। रंगशाला निर्माणका क्रममा अहिलेसम्म भएको सम्पूर्ण खर्च विवरण यथाशिघ्र सार्वजनिक गर्न मन्त्री अथकले धुर्मुश–सुन्तली फाउण्डेसनलाई आग्रह गरेका छन्।
रंगशाला निर्माणको जिम्मा लिएको धुर्मुश–सुन्तली फाउण्डेसनले परियोजनाबाट हात झिकेपछि निर्माणको जिम्मा भरतपुर महानगरपालिकाले लिएको छ।