चितवन। चितवनमा सडक विस्तारका क्रममा निर्माणाधीन नालीमा पसेर गैंडा मरेको विषयमा निर्माण कम्पनीका सञ्चालकलाई पक्राउ पुर्जी जारी गरिएको छ। चितवन राष्ट्रिय निकुञ्जले इन्डो सगुन जेभीका सञ्चालक सहदेव खड्कालाई पक्राउ पुर्जी जारी गरेको हो ।
निकुञ्जले अनुसन्धान अधिकृत तोकेर सो निर्माण कम्पनीका सञ्चालक खड्कालाई पक्राउ पुर्जी जारी गरेको बताइएको छ। निकुञ्जले सहायक संरक्षण अधिकृत राजु घिमिरेलाई अनुसन्धान अधिकृत तोकेको छ ।
गत आइतबार नालीको खोँचमा परेर गैँडा मरेको थियो । त्यसलगत्तै वन तथा वातावरण मन्त्रालयले वन विभागका उपमहानिर्देशक डा.राजेन्द्र केसीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो ।
समितिले १० दिनभित्र प्रतिवेदन बुझाउनेछ । बिहीबारबाट समितिले घटना भएको चितवन जिल्लामा सरोकारवालाहरुसँग छलफल थालेको छ ।
डिभिजन सडक कार्यालय चितवनले पुल्चोकदेखि गोन्द्राङसम्म ६ लेन सडकका लागि ठेक्का लगाएको थियो । सोही ठेक्काअन्तर्गत सगुनले काम गरेको हो । सडकले वन्यजन्तु कोरिडोरमा निर्माण गर्दा पालना गर्नुपर्ने ऐन कानुन अवलम्बन नगरी काम गर्दा घटना भएको निकुञ्जको आरोप छ।