चितवन। चितवनमा सडक विस्तारका क्रममा निर्माणाधीन नालीमा पसेर गैंडा मरेको विषयमा निर्माण कम्पनीका सञ्चालकलाई पक्राउ पुर्जी जारी गरिएकोमा नेपाल निर्माण व्यवसायी महासंघले आपत्ति जनाएको छ।
चितवन राष्ट्रिय निकुञ्जले इन्डो सगुन जेभीका सञ्चालक सहदेव खड्कालाई पक्राउ पुर्जी जारी गरे लगत्तै विज्ञप्ति जारी गरी महासंघले आपत्ति जनाएको हो।
महासंघले निकुञ्जको ऐन विपरीत हुने कुनै पनि कामकारबाही नभएको र निर्माण सम्झौता बमोजिक निर्माण कम्पनीले सम्पूर्ण सुरक्षाका मापदण्डहरु पूरा गरेको दाबी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘गैंडाको प्राकृतिक आवतजावतका क्रममा भएको दुखद निधनको तथ्यलाई तोडमोड गरी निर्माण व्यवसायी उपर प्रचलित कानुन विपरीत हुने गरी अनुसन्धानका नाममा पक्राउ पूर्जी जारी गर्ने, दख हैरानी दिने कार्यले विभिन्न बाधा अड्चनका बाबजुत भौतिक पूर्वाधार निर्माण कार्यमा अहोरात्र खटिएका व्यवसायीको मनोबल गिराउने र निर्माण कार्य अगाडि बढाउन हतोत्साहित गर्ने काम भएको महासंघको ठहर छ।’
प्राकृतिक रुपमा भएको घटनालाई नियोजित रुपमा निर्माण व्यवसायीमाथि झुठो आरोप लगाइएको महासंघको भनाइ छ। महासंघले इन्डो सगुनका सञ्चालक खड्कामाथि अघि बढाइएको अनुसन्धान तथा कारबाही प्रकृया समेत रोक्न माग गरेको छ।
गत आइतबार नालीको खोँचमा परेर गैँडा मरेको थियो । त्यसलगत्तै वन तथा वातावरण मन्त्रालयले वन विभागका उपमहानिर्देशक डा.राजेन्द्र केसीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो ।
समितिले १० दिनभित्र प्रतिवेदन बुझाउनेछ । सडकले वन्यजन्तु कोरिडोरमा निर्माण गर्दा पालना गर्नुपर्ने ऐन कानुन अवलम्बन नगरी काम गर्दा घटना भएको निकुञ्जको आरोप छ।
